११४ औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदै
काठमाडौं । ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नाराका साथ यस वर्ष अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । दिवसको अबसरमा महिला अधिकारको क्षेत्रका कार्यरत संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर नारी दिवस मनाउने प्रचलन छ । सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हड्ताल र विशाल जुलुस प्रदर्शन गरे । महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई लिने गरिन्छ । जर्मनीकी माक्र्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । सोही प्रस्ताव अनुसार सन् १९११ देखि नारी दिवस मनाउन थालिएको हो ।
प्रतिक्रिया