नयाँ गठबन्धनमा एमालेले ८, माओवादीले ५, रास्वपाले ४ र जसपाले २ मन्त्रालय लिने

गृह मन्त्रालय रास्वपालाई दिइने

सत्ता साझेदार दलहरुले मन्त्रालय बाँडफाट लगभग टुग्याएका छन । आजै साँझसम्म सरकार विस्तार गर्ने तयारी प्रधानमन्त्री पुष्पकमल दाहालको छ । सरकारमा सहभागी थप मन्त्रीहरुको शपथ साँझ पाँच बजेपछि हुने बताइएको छ । नेकपा एमाले, माओवादी केन्द्र र रास्वपाबाट सहभागी गराउँदै प्रधानमन्त्री दाहालले मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । पाँच दलीय गठबन्धनले नेकपा एमालेलाई ८, नेकपा माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ४ र जसपा र एकीकृत समाजवादीलाई २–२ मन्त्रालय दिने सहमति भएको छ । दुई राज्यमन्त्रीसहित चार मन्त्रालयको भने टुंगो लाग्न बाँकी रहेको छ । नेकपा एमालेले उपप्रधान तथा ं भौतिक पूर्वाधार मन्त्रीको रुपमा रघुवीर महासेठलाई सरकारको नेतृत्वमा पठाउने भएको छ । एमालेका दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुने भएका छन । माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्रीको रुपमा सरकारमा सहभागी हुने भएका छन ।  अर्थमन्त्रीमा वर्षमान पुन आउने भएका छन । शक्ति बस्नेत र रेखा शर्मा दोहोरिने भएपनि मन्त्रालय टुंगो लाग्न बाँकी छ । हितबहादुर तामाङ विनाविभागीय मन्त्री नियुक्त भैसकेका छन । उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने बताइएको छ । रास्वपाबाट उपप्रधान तथा गृहमा रवि लामिछाने, उपसभापति डीपी अर्यालले श्रममन्त्री, विराजभक्त श्रेष्ठले खेलकुदमन्त्री र सहमहामन्त्री सुमना श्रेष्ठले शिक्षामन्त्रीको जिम्मा पाउने भएका छन् । एकीकृत समाजवादी पार्टी संघीय मामिला तथा सामान्य प्रशासन र शहरी विकास दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको छ । जसपाले भने अझै मन्त्रीहरुको नाम तय गर्न सकेको छैन । 

प्रतिक्रिया