पशुपति क्षेत्रमा महाशिवरात्रिकाे सबै तयारी पूरा

पशुपति क्षेत्र विकास कोषले शुक्रबार पर्ने महाशिवरात्रिका लागि सबै तयारी पूरा गरिसकेको जनाएको छ । महाशिवरात्रिमा पशुपति क्षेत्रभित्र हरेक वर्ष सात लाखको हाराहारीमा दर्शनार्थी आउने गरेका छन । सर्वसाधारण दर्शनार्थीको सहजतालाई ध्यानमा राखी यसपटक ‘भिआइपी’ दर्शन हटाइएको छ । यस वर्ष कोषले पहिलोपटक बागमती नदीमा पानी भर्ने व्यवस्था गरेको छ । यसैगरी, विभिन्न देशबाट त्यसमा पनि भारतबाट सोमबारदेखि नै साधुसन्त आउन सुरु भइसकेको र उनीहरू आ–आफ्नो अखडामा खाने, बस्ने व्यवस्था पनि भइरहेको छ ।  यसैविच महाशिवरात्रि पर्वलाई लक्ष्य गरी पशुपतिनाथ मन्दिर आसपास मासु र मदिरा बेचबिखनमा रोक लगाइएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरी बुधबारदेखि फागुन २७ गतेसम्म गौशाला–मित्रपार्क सडकदेखि पूर्व, पशुपतिनाथ क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला–तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण भित्रका सबै भागमा मासु र मदिरा बिक्रीमा रोक लगाएको हो । पर्वलाई अनुशासित, मर्यादित र व्यवस्थित बनाइ भव्यरूपमा सम्पन्न गर्न र पाशुपत क्षेत्रभिको सुरक्षालगयात धार्मिक, साँस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो रोक लगाइएको हो । तोकिएका चारकिल्ला भित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी पूर्णरुपमा रोक लगाइएको प्रशासनले जनाएको छ । 
 

प्रतिक्रिया