कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने

पछिल्लो राजनीतिक परिस्थिति र भावी रणनीतिबारे छलफल गर्न नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ । मंगलबार अपराह्न तीन बजे बस्ने गरी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । नेपाली कांग्रेसको कार्यसम्पादन समितिमा ३७ सदस्य छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससहितको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि नयाँ रणनीति बनाउन कांग्रेसको बैठक बस्न लागेको हो । आज बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले कार्यसम्पादन समितिमा गठबन्धन टुटुनुका विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाउने सहमति गरेको हो । सत्ता गठबन्धन निर्माण गर्दाको सहमति समय सकिन करिब १ वर्ष बाँकी रहँदा प्रधानमन्त्री दाहालले गठबन्धन तोडेर धोका दिएको कांग्रेसको निस्कर्ष छ । सत्ता गठबन्धनमा कुनै दरार वा विवाद नै नआई प्रधानमन्त्रीले आफूहरुको साथ छोडेको कांग्रेसको दाबी छ ।

प्रतिक्रिया