प्रतिनिधिसभाको बैठक २४ गतेसम्मका लागि स्थगित

आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक २४ गतेसम्मका लागि स्थगित गरिएको छ । विशेष परिस्थितिका कारण प्रतिनिधिसभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजे बस्ने गरी सूचना टाँसेर स्थगित गरिएको हो । यसअघिका प्रतिनिधिसभा बैठकमा बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वालासहित तीन मन्त्रीको राजीनामा माग्दै सांसद्हरूले विरोध जनाएका थिए ।सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सदनमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ १९ गतेको बैठकमा दिन रुलिङ गरेको भए पनि दाहाल चितवन गए, संसद्मा उपस्थित भएनन् । दाहालले यस अघि बालकुमारीमा दुई युवकको हत्या भएको घटनाको प्रतिवेदन अध्ययन गरेर आजकै दिन निर्णय लिने बताएका थिए ।त्यस पश्चात आजका लागि बोलाइएको बैठकमा सरकारलाई ती विषयहरूको जवाफ दिन सभामुखले निर्देशन गरेकामा आजको बैठक पनि सत्ता गठबन्धन बदलिँदा विशेष परिस्थितिका कारण भन्दै स्थगित गरिएको छ । 
 

प्रतिक्रिया