कम्युनिष्ट ध्रुविकरण लागि गठबन्धन फेरेको माओवादी प्रतिक्रिया

शान्ति प्रक्रिया टुंगिनुका साथै सरकारको काममा नयाँपन आउने दाबी

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले नयाँ सत्तारुढ गठबन्धन बनाउने निर्णय गरेको छ । आज बालुवाटारमा भएको पार्टी पदाधिकारी बैठकपछि नेताहरुले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको जानकारी दिएका हुन । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नेपाली जनताको चाहना अनुसार वामपन्थी कमजोर हुने अवस्था आउन नदिन नयाँ गठबन्धन निर्माण गरिएको बताए ।
शान्ति प्रक्रियालाई टुंग्याउने र सरकारको बजेट, नीति तथा कार्यक्रममार्फत सरकारको कामलाई नयाँपन दिनका लागि नयाँ गठबन्धन बनाउनुपरेको माओवादीको भनाइ छ । अर्थ मन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीलाई अपेक्षा गरे अनुरुप सहयोग नगरेका कारण पनि गठबन्धन फेर्ने निर्णय गर्नुपरेको माओवादी भनाइ छ । त्यस्तै राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा माओवादी केन्द्रको उम्मेदवारलाई हराउनु, काँग्रेस महासमिति बैठकमा जनयुद्धलाई गलत ढंगले टिप्पणी गर्नु र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नुले पनि काँग्रेस–माओवादी गठबन्धन टुट्न सहयोग पुगेको माओवादीको भनाइ छ । माओवादी बैठकमा विगतका त्रुटि कमजोरी सच्याएर अघि बढ्नुपर्छ भन्नेबारेमा छलफल भएको छ । बैठकले नेकपा एमाले सहितको नयाँ गठबन्धन कायम भएसँगै समाजवादी मोर्चा नेपाल पनि निरन्तर राख्ने सहमति पनि गरेको छ । 

प्रतिक्रिया