भ्रष्टाचार र अनियमिततामा मुछिएका मुख्य सचिव अर्याल आजदेखि बिदामा

विभिन्न भ्रष्टाचार र अनियमिततामा मुछिएका मुख्य सचिव वैकुण्ठ अर्याल आजदेखि बिदामा बस्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि उनी बिदामा बस्न लागेका हुन् । टेरामक्स प्रविधि खरिदको अनियमिततामा मुछिएका उनलाई बिदामा बस्न दबाब बढेको थियो । सञ्चार मन्त्रालयको सचिव रहँदा अर्यालले टेरामक्स प्रविधि खरिदमा अनियमितता गरेको निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छ ।अख्तियारले टेरामक्स खरिद प्रकरणको अनियमितताका सम्बन्धमा सबै अनुसन्धान सकेर मुद्दा दायरको तयारी गरिरहेको छ । मुख्यसचिव पदमा बहाल रहेकै बेला उनीमाथि कारवाहीको प्रक्रिया अघि बढाउदा सिंगो कर्मचारीतन्त्रको मनोबल गिर्ने भन्दै अर्याललाई निकास दिन अख्तियारले आग्रह गर्दै आएको छ । सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा ६९ करोड ८ लाख भ्रष्टाचारको अभियोग लागेका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसँग मुख्य सचिव अर्यालको अनुचित आर्थिक कारोबारसमेत देखिएको अख्तियार अध्ययनमा देखिएको बताइएको छ ।। 

प्रतिक्रिया