राष्ट्रिय सभाका अध्यक्ष सहित २० सांसदको पदावधि आजवाट सकिंदै

रष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिदैछ । २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल बिताएका उनीहरू बिदा हुन लागेका हुन् । घर फर्कन लागेका सांसदहरुलाई आज संसद सचिवालयले विदाइ कार्यक्रम गर्दैैछ । निर्वाचित भएर आएका सदस्यहरूलाई स्वागत र पदावधि सकिएका सदस्यलाई बिदाइ कार्यक्रम राखिएको छ । बिदाइ हुने राष्ट्रियसभा सदस्यलाई उनीहरूको कार्यकालमा उनीहरुले संसदमा बोलेका कुराहरूको लिखित पुस्तक समेत प्रदान गरिने तयारी छ । बिदाइ हुन लागेकाहरूमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमालेका सांसदहरू दीपा गुरुङ, इन्दु कडरिया, दीलकुमारी रावल थापा पार्वती, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई छन । कांग्रेसका चार सांसदहरू रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा हुँदै छन् भने माओवादी केन्द्रका तीन सदस्य विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा बिदा हुँदै छन् ।यता नेकपा एसबाट नन्दा चापाई र सिंगबहादुर विश्वकर्मा, जसपाबाट प्रमीलाकुमारी, स्वतन्त्र सांसद खिमलाल देवकोटा र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल पनि बिदा हुँदै छिन् ।उनीहरूको ठाउँमा हुने रिक्तता पूर्तिका लागि यसअघि नै माघ ११ मा भएको राष्ट्रियसभाको निर्वाचनबाट १९ सदस्य निर्वाचित भइसकेका छन् । नवनिर्वाचित सांसदको सपथ सोमबारका लागि राखिएको छ । एकजना सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छ । सोमबारदेखि माओवादी केन्द्र राष्ट्रिय सभामा ठुलो दल बनेको छ । सभामा माओवादीका १७, कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका आठ सांसद हुनेछन । जसपा नेपालका दुई र लोसपाका एक सांसद रहनेछन । 

प्रतिक्रिया