दुग्ध उत्पादक किसानको आन्दोलन स्थगित, चैत २१ गतेसम्म बक्यौता भुक्तानी हुने

आन्दोलनरत दुग्ध किसानले आन्दोलन स्थगित गरेका छन् । सरकार र किसानबीच पाँच बुँदे सहमति भएसँगै आजवाट आन्दोलन स्थगित भएको हो । शनिबार साँझ कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालसमेतको उपस्थितिमा सरकार, उद्योगी र दूग्ध सहकारी संघबीच वार्ता भएको थियो । वार्तामा सरकार र उद्योगले किसानलाई एक महिनाभित्र भुक्तानी दिन सहमति जनाएका छन् । वार्तापछि उद्योगीले आगामी चैत्र २१ गतेसम्ममा दूधको भुक्तानी गरिसक्ने सहमति जनाएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको दूग्ध सहकारी संघले जनाएको छ । उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी दूध खरिद गर्ने, उद्योगीको दूध तथा दुग्धजन्य पदार्थ निर्यातका लागि कृषि तथा पशुपक्षी मन्त्रालयले समन्वय गर्ने, निर्यात प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने सहमति भएको छ । त्यस्तै पशुपालक किसानलाई सरकारले दिँदै आएको बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी सङ्घले राखेका माग सम्बोधनका लागि पहल गर्ने सहमति भएको हो ।वार्तामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल र केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरलगायतको सहभागिता रहेको थियो । दूधको भुक्तानी रोकिएको भन्दै संघले यही फागुन ८ गतेदेखि चरणबद्ध आन्दोलन गरिरहेको थियो । झण्डै ६ अर्ब रुपैयाँ दूधको भुक्तानी किसानले पाउन सकेका छैनन । 

प्रतिक्रिया