राउण्डटेबल नेपालद्धारा विपन्न बालबालिकाका लागि स्कुल पुर्वाधार निर्माण

राउण्ड टेबल नेपालले कालोपुल, काठमाण्डौमा रहेको सुनगाभा बाटिका नेपाल विधालयको (अर्चिड गार्डेन नेपाल) लागि ६ वटा कक्षाकोठा भएको एक भवन, पुस्तकालय, कम्प्युटर ल्याब सहितको एक बहुउदेश्यिय हल, ५ वटा शौचालय सहितको शौचालय भवन निर्माण सम्पन्न गरि हस्तान्तरण गर्ने अन्तिम चरणमा पुगेको छ । करिव ५ महिना अघिबाट सुरु भएको निर्माणकार्य छोटो अवधिमा नै सम्पन्न गरि फागुन १६ गते अर्ध- बार्षिक बैठकको अबसरमा विधालयलाई हस्तान्तरण गर्ने तयारि राउण्डटेबल नेपालले गरेको छ । 

हस्तान्तरण कार्यक्रममा राउण्ड टेबल इन्टरनेशनलका अध्यक्ष मार्कजर्मेहसेन (Marc Germeshausen), राउण्ड टेबल नेपालका अध्यक्ष नितेश कुमार अग्रवाल, राउण्ड टेबल काठमाण्डौका अध्यक्ष कन्हैया घिराईया लगायत अन्य राउण्ड टेबलका प्रतिनिधिहरुको उपस्थिति रहनेछ । साथै सोहि दिन विधालयका बालबालिकाहरुलाई स्कुल ब्याग, पुस्तकर स्टेसनरि तथा खाजा र खाना पनि वितरण गर्ने कार्यक्रम रहेको छ। सुनगाभाबाटिका नेपालमा हाल १५० बालबालिका अध्ययन गरिरहेका छन।

एकल अभिभावक भएका बालबालिका, श्रमिकहरुको बालबालिका तथा कुलतमा लागेका अभिभावकका बालबालिकाहरुलाई हेरचाह गर्ने उदेश्यले १७ बर्ष अगाडि सुनगाभा बाटिका नेपाल विध्यालय स्थापना भएको थियो ।  बालबालिकाहरुलाई दिवाहेरचाह केन्द्र, प्रारम्भिक प्राथमिक विध्यालय र दिवाछात्रा बासको सेवा प्रदान गर्दै आईरहेको यस सस्थाले हाल ६ महिनादेखि ९ बर्षभित्रका उमेर समुहका बालबालिकाहरुलाई भर्ना लिई निःशुल्क सेवा प्रदान गर्दै आईरहेको छ।

उदेश्य राम्रो हुदाहुदैपनि आर्थिक तथा अन्य कारणले गर्दा विधालयका भौतिक पुर्वाधारहरु गुणस्तरिय र ब्यबस्थित थिएनन।  कमजोर तथा अव्यवस्थित पुर्वाधार तथा आर्थिक अभावका वावजुद विधालयले सयौ बालबालिकाको शिक्षा र पालनपोषण गर्दै आएको थियो । राउण्डटेबल नेपालको साथ र सहयोगमा  विधालयको मुहार फेरिदै छ ।  अन्तरराष्ट्रीय सस्था राउण्डटेबलले ४० बर्ष भन्दा कम उमेरका युवाहरु सङ्गठितभै विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्ने गर्दछ। नेपालमा 'राउण्डटेबल नेपाल' को नामले सन्चालित यस सस्थाले नेपालका विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आइरहेको छ।

 करिब ४५ लाख रुपैया लागतमा निर्माण भएका पुर्वाधारले बालबालिकाको शैक्षिक गुणस्तर र सिकाइमा सहज हुने बिस्वास विधालयले गरेको छ। विधालयको पुर्वाधार निर्माणका लागि आवश्यक रकम राउण्डटेबल नेपाल, राउण्डटेबल अस्ट्रीया, राउण्डटेबल पेरिस, एनआइएमबि बैङ्क लगायतका सहयोगिदाताहरुबाट सङ्कलन गरिएको हो ।

 

प्रतिक्रिया