दुध किसानलाई भुक्तानी दिन सरकारले सहुलियत ऋण उपलब्ध गराउने

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुध किसानलाई भुक्तानी दिलाउनका लागि दुग्ध विकास संस्थान डिडिसी तथा निजी क्षेत्रका डेरी उद्योगीलाई सहुलियत ऋणका लागि सहजीकरण गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले दुध किसानलाई तत्कालै भुक्तानी दिलाउन निर्देशन दिएपछि कृषि मन्त्रालय त्यसका लागि पहल सुरु गरेको हो । प्रधानमन्त्री दाहालले निर्देशन दिएपछि पनि किसानले समयमा भुक्तानी नभएको भन्दै देशभर विरोध जारी राखेका छन । कृषि मन्त्रालयले सहुलित ऋण अनुदानमा डिडिसीलाई ३० करोड रुपियाँ दिने भएको छ । त्यसका लागि अर्थ मन्त्रालयले सैद्धान्तिक सहमति पनि दिइसकेको छ । यो हप्ताभित्र डिडिसीले सो रकम पाउने र सो सो रकमबाट डिडिसीले किसानको बक्यौता रकम भुक्तानी गर्ने तयारी छ । निजी क्षेत्रका डेरी उद्योगीले पहल गरेका त्यसका लागि पनि मन्त्रालयले सहजीकरण गरिदिने बताइएको छ । त्यसका लागि निजी क्षेत्रले सबै प्रक्रिया पूरा गरेर निवेदन दिनुपर्ने मन्त्रालयको भनाइ छ । यो महिनाभित्र जसरी पनि किसानको बक्यौता रकम भुक्तानी गराउन मन्त्रालयले पहल गर्ने बताइएको छ । डिडिसी तथा निजी क्षेत्रको गरी किसानलाई भुक्तानी गर्नुपर्ने पाँच अर्बभन्दा बढी रकम बाँकी रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । त्यसमध्ये सबभन्दा बढी रकम डिडिसीको बक्यौता रहेको बताइएको छ । डिडिसीका अनुसार ५० करोड रुपियाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको छ । दुधका किसानहरू मङ्गलबारदेखि आन्दोलन सुरु गरेका छन् ।

प्रतिक्रिया