देशव्यापी रूपमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजदेखि सुरु

देशव्यापी रूपमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ । सरकारले दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि चैत ७ गतेसम्म सञ्चालन गर्ने भएको हो । दादुरा तथा रुबेलाको प्रकोप बढेकाले खोप अभियान सञ्चालन गर्नु परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप अभियानमा ५७ लाख ४२ हजार ९९३ लाई खोप प्रदान गर्ने लक्ष्य छ । २४ जिल्लाका नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइने छ । तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाका तीन जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइने छ । तराई र काठमाडौँ उपत्यकाका जिल्लामा धेरैजसो १५ वर्षमुनिका बालबालिकामा दादुरा देखिएकाले यी जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन लागिएको हो । २०७९ मङ्सिर ३ देखि २०८० पुस १५ सम्मको तथ्याङ्क अनुसार ती जिल्लाका एक हजार ३४९ जनामा दादुरा सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये एक जनाको निधन भएको छ । नेपालमा ३५ वर्षअघिदेखि दादुरा र ११ वर्षदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदै आइरहेको छ । सरकारले सन् २०१९ मा दादुरा–रुबेला रोग नियन्त्रण गर्ने लक्ष्य राखेको थियो । भूकम्प प्रभावित दुई जिल्ला जाजरकोट र रुकुमपश्चिममा यसअघि नै खोप लगाइसकिएको छ । 
 

प्रतिक्रिया