तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाइने प्रधानमन्त्रीको भनाई

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहालले तीन करोडभन्दा कम लागतका योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन्। माओवादी केन्द्रको आज सिंहदरबारमा भएको संसदीय दलको बैठकमा प्रधानमन्त्रीले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताए । नयाँ योजना धेरै नथपीकन पूरा हुन बाँकी पुराना योजनामा बजेट विनियोजन गरिने उनले बताए । प्रधानमन्त्रीले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी दिए । उनले सरकारले आयोग बनाएर छानबिन गर्ने निर्णय गरेकोले प्रतिवेदन अध्ययनको प्रक्रियामा रहेको बताए । अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्ने उनको भनाइ छ । अब हुने मन्त्रिपरिषद् बैठकपछि सरकारका तर्फबाट संसद्मा विधेयकहरू प्रस्तुत गरिने भएकाले ती विधेयक पारित गराउन सांसदहरूलाई प्रधानमन्त्रीले आग्रह गरे । बैठकमा नेपाल सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटबारे सांसदहरूलाई अभिमुखीकरण गर्ने कार्यसूची छ ।
 

प्रतिक्रिया