बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न एमालेको ध्यानाकर्षण

विवादित भौतिक, स्वास्थ्य र पर्यटनमन्त्री बर्खास्त गर्न माग

नेकपा एमालेले बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । आज प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा सांसद योगेश भट्टराईले प्रतिवेदन सार्वजनिक नभएकोमा आपत्ति जनाएका हुन । उनले छानविन आयोगले दिएको प्रतिवेदनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषि देखाएको भन्दै मन्त्री ज्वाला नैतिक रुपमा पदमा बस्न नमिल्ने बताए । 
सांसद भट्टराईले फागुन ६ गतेको बैठकमा प्रधानमन्त्री स्वयम्ले संसदमा बोल्दै युवाहरुको हत्या भएको बताएको भन्दै हत्या भएको भए त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने बताए । उनले टेरामक्स प्रकरणमा तत्कालिन सञ्चार मन्त्रीको हैसियतमा हालका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको संलग्नतामा अख्तियारले बयान लिएको भन्दै मन्त्री बस्नेत पदमा बहाल हुनेकुरा पनि स्वीकार नहुने बताए । लुम्बिनीस्थित रामग्रामको जग्गा निजी कम्पनीलाई भाडामा दिने संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको निर्णयको सम्बन्धमा पनि छानविन गर्न माग एमालेको छ । सबै विवादित मन्त्रीहरुको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने माग समेत एमालेले अघि सारेको छ । सांसद भट्टराईले मिटरब्याजीहरु अहिलेको गठबन्धनसँग नजिकका मान्छे भएकाले सरकारले कारबाही नगरेको पनि आरोप लगाए । 
 

प्रतिक्रिया