प्रतिपक्षी दलद्वारा स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटनमन्त्रीको राजीनामा माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका प्रतिपक्षी दलहरूले भ्रष्टाचार लगायतका विभिन्न काण्डहरूमा सरकारका मन्त्रीहरू मुछिएको भन्दै राजीनामा माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरु रघुजी पन्त, विराज भक्त श्रेष्ठ र ज्ञानेन्द्र शाहीले बालकुमारी घटनामा दोषी, भ्रष्टाचारमा नाम आएका व्यक्तिहरू मन्त्री पदमा बसिरहेको भन्दै राजीनामा माग गरेका हुन । एमाले सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किराँतीलाई पदबाट हटाउन सरकारको ध्यानाकर्षण गराए । 
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र  शाहीले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिनु नहुने बताए । 
प्रमुख सचेतक शाहीले ललिता निवास सरकारी जग्गालाई मन्त्रिपरिषद्को निर्णयमा नीजि बनाइएको दाबी गर्दै निर्णय गर्नेलाई उन्मुक्ति  दिएर व्यापारीलाई पक्राउ गरिएको उनको आरोप थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले पनि बालकुमारी घटनाका दोषीलाई कारबाही नहुने भने यस्ता काम कायम रहेमा संसद् र सडकमा आन्दोलन हुने चेतावनी दिए ।
सांसद श्रेष्ठले मिटरब्याज अनुचित लेनदेन पीडितहरु पुनःकाठमाडौँ आएर आन्दोलन गर्न बाध्य भएको पनि बताए । 

प्रतिक्रिया