राष्ट्रपति पौडेलले बाग्लुङको पञ्चकोटमा पुगेर पूजाअर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले बाग्लुङको पञ्चकोटमा पुगेर आज पूजाअर्चना गरेका छन । हिजोदेखि यहाँ प्रारम्भ भएको ब्रह्माण्डीय महायज्ञमा उनले सहभागिता जनाएका हुन । राष्ट्रपति पौडेल पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघण्ट पनि उदघाटन गरेका छन । पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यहाँ महाघण्ट राखिएको हो । विसं २०७१ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो । गत साता महाघण्टलाई पञ्चकोट ल्याइएको थियो । पञ्चकोटमा अहिलेसम्म सिस महल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन् । पञ्चकोटमा निर्माण गर्न लागिएको एक सय आठ फिट अग्लो गण्डकी विश्वशान्ति कलशको नजिकै महाघण्ट राखिएको छ । महाघण्ट बनाउन करिब रु दुई करोड खर्च लागेको अनुमान गरिएको छ । राष्ट्रपति पौडेलले आजै अछामको वैद्यनाथ धामको कोटिहोममा पनि सहभागिता जनाउनेछन ।  साफेबगर नगरपालिका–१ मा रहेको वैद्यनाथ धाममा १४४ वर्षपछि सुरु हुन लागेको कोटिहोमको  पौडेलले उदघाटन गर्ने कार्यक्रम छ । आगामी २५ फागुनसम्म चल्ने कोटिहोमको उदघाटन गर्न राष्ट्रपति पौडेल हेलिकप्टरमार्फत वैद्यनाथ धाम जाने भएका हुन ।।
 

प्रतिक्रिया