लोकतन्त्रका कमजोरी सुधार गर्नुको विकल्प छैन: प्रधानमन्त्री

बौद्धिक पलायन रोक्नुपर्नेमा जोड

काठमाडौंको सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी ७४ औं प्रजातन्त्र दिवस मनाइएको छ । राणा शासन अन्त्य भएपछि नेपाली जनता रैतीबाट नागरिक बनेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष फागुन सात गते प्रजातन्त्र दिवस मनाउने गरिएको छ  । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै भएकाले यो व्यवस्थाको भएका कमजोरीहरुलाई सुधार गरेर जानुको विकल्प नभएको बताए । 
प्रधानमन्त्री दाहालले सरकारले जनउत्तरदायी भएर काम गर्दै आएको र सबै निकायलाई जनताको पक्षमा काम गर्न निर्देशित गरेको दाबी गरे । सन् २०३० सम्ममा कम विकसित मुलुकको सूचिबाट विकसित राष्ट्रमा सूचिमा परिणत गर्नुपर्ने जरुरी भएको र रोजगारी सृजना गरी बौद्धिक पलायन रोक्नुपर्ने दायित्व सरकारको रहेको उनको भनाइ थियो ।  नागरिकको सक्रिय सहभागीबाट मात्र समुन्नत र सार्वभौम मुलुक बनाउन सकिने भएकाले सबैले प्रजातन्त्र र लोकतन्त्रको रक्षामा उभिन आग्रह समेत प्रधानमन्त्री दाहालले गरे । कार्यक्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन समेत गरिएको थियो । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल सहित संबैधानिक निकायका प्रमुख, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो । २००८ सालपछि प्रजातन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्चमा विशेष समारोह आयोजना गर्दै आएको छ । दिवसका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । 
 

प्रतिक्रिया