देशको परिवेश अनुरुप प्रजातन्त्रको अभ्यास हुनुपर्छ: पूर्वराजा शाह

राष्ट्र र जनताको हितमा लागिरहने प्रतिवद्धता

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र आफ्नो देशको प्रकृति, प्रवृत्ति, संस्कृति र परिवेश अंकित हुनुपर्ने बताएका छन् । ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले प्रजातन्त्रमा आ—आफ्नो राष्ट्रको मौलिक मान्यता तथा सामाजिक संरचना अनुसार आ—आफ्नो शैली, पद्धति र परिपाटी अनुरुप राज्य पद्धति कायम गर्नुपर्ने बताएका हुन् । प्रजातन्त्र आजको युगको सर्वस्वीकार्य राजनीतिक विश्व व्यवस्था भएको उल्लेख गर्दै उनले प्रजातन्त्रमा सबैको विशेषता, योग्यता तथा योगदानलाई फल्न र फुल्न दिनुपर्ने बताएका हुन् । पूर्वराजा शाहले प्रजातन्त्र भित्रको अर्थतन्त्रमा श्रोत, साधन र शिप समाहित हुनुपर्ने पनि उल्लेख गरेका छन् । उनले सबैले मिठो खान, राम्रो लाउन, स्वस्थ्य, शान्त र सन्तुष्ट भएर बाँच्न पाउने तथा सबैलाई देश मै गतिलो शिक्षा र सबैको क्षमता अनुसार रोजगारीको व्यवस्था भएमा नै प्रजातन्त्रको गरिमा बढ्ने पनि बताएका छन् । पूर्वराजा शाहले जनताको अपेक्षा अनुसार धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधी व्यवहार झल्काउन राज्य व्यवस्थाका सबै हर्ताकर्तालाई आग्रह समेत गरेका छन् । उनले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता तथा जनताको उत्थानमा आफूहरु निरन्तर लागिरहेको प्रतिवद्धता पनि जनाएका छन् । पूर्वराजा शाहले आफूहरु सदैव नेपाली जनतासँग निकट रहिरहन चाहेको तथा आफ्ना सबै ढोकाहरु नेपालीका लागि खुल्ला रहने पनि उल्लेख गरेका छन् ।।

प्रतिक्रिया