कांग्रेसको महासमिति बैठक आजबाट गोदाबरीमा सुरु हुँदै

नेपाली कांग्रेसको महासमिति बैठक आजबाट सुरु हुँदैछ । सभापति शेरबहादुर देउवाले ललितपुरको गोदावरीस्थित सनराइज हलमा दिउँसो १ बजे महासमिति बैठक उद्घाटन गर्ने कार्यक्रम छ । ललितपुरको गोदावरीमा बैठक तीन दिनसम्म चल्नेछ । महासमिति बैठकमा पेश गर्नका लागि उपसभापति पर्ण बहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको छुट्टाछुट्टै प्रस्ताव तयार भइसकेका छन् । थापाको प्रस्तावमा अब हुने चुनावहरुमा कांग्रेसले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने उल्लेख छ । २०७८ मंसिरमा १४ औं महाधिवेशन गर्दा कांग्रेसले नीति अधिवेशन गरेको थिएन। नीति अधिवेशनको समेत काम गर्ने गरी अहिले महासमिति बैठक गर्न लागिएको हो। विधानअनुसार महाधिवेशन भएको वर्षबाहेक वर्षेनी महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ । महासमिति बैठकले कांग्रेसले लिने नीति तय गर्नेछ । महासमिति बैठकमा वर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरू १६५ जना, प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी महासमिति सदस्यहरू १ हजार सात सय ८० जना, नेपाली जनसम्पर्क समितिबाट ८९ जना, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, महासमिति सदस्य नरहेका जिल्ला सभापति ४६ जना सहभागी हुने छन् ।

प्रतिक्रिया