राष्ट्रपति रामचन्द्र पौडेलले गरे कृषिमा लगानी बढाउन सरकारलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषिमा लगानी बढाउन सरकारलाई आग्रह गरेका छन् । शुक्रबार काभ्रेको बनेपामा बृहत कृषि महोत्सव २०८० को उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपाल कृषि प्रदान देश भएकाले कृषिमा लगानी बढाउनुपर्ने बताएका ह्ुन् । उनले किसानले उत्पादन गरेका सामग्री बिक्रीका लागि बजारको व्यवस्था गर्न तिनै तहका सरकारको ध्यानाकर्षण समेत गराए । 
राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता आर्थिक समृद्धि, विकास र शान्ति नै भएको पनि बताए । सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकटेलले किसानको समस्या समाधान गर्न प्रदेश सरकारले गम्भीर भएर काम गरिरहेको बताए । 
 जिल्ला समन्वय समिति काभ्रे, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, बनेपा नगरपालिकाको आयोजना, काभ्रे उद्योग वाणिज्य संघको व्यवस्थापन र जिल्लास्थित स्थानीय तहको सहभागितामा ४ दिने महोत्सव आयोजना गरिएको हो । महोत्सवमा जिल्लामा उत्पादन गरिएका विभिन्न कृषि उपजहरु र खानेकुराको स्वाद लिन सकिने आयोजकले जनाएको छ । महोत्सवमा कृषि प्रविधि, रैथाने बाली, खाद्यान्न, बिउ, ताजा तरकारी, भर्मि कम्पोस्ट, दुग्धजन्य उपज, लप्सी क्यान्डी, लोकल धान, कफी, फापर पिठो, प्रांगारिक प्रमाणित कृषि उपजहरू, बुद्धचित्त माला, धानको उन्नत बिउ, मौरीगोला, हस्तकला, एभोकाडो, सिताके च्याउ, कालिज, लोकल कुखुरा, पनिर, खुवा, लोकल चामल, घिउ, कोल्ड च्याम्बर प्रविधिलगायतका सामग्रीहरु राखिएको छ । महोत्सवले काभ्रे जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उपजहरूको बिक्री र बजारीकरण तथा कृषकको आर्थिक अवस्थामा सुधार ल्याउने विश्वास लिइएको छ ।
 

प्रतिक्रिया