सनातन हिन्दू राष्ट्रलाई महासमिति बैठकको एजेण्डा बनाउन कांग्रेसको माग

काठमाडौं ।  नेपाली कांग्रेसका २२ जना केन्द्रीय सदस्यले सनातन हिन्दू राष्ट्रलाई महासमिति बैठकको एजेण्डा बनाउन माग गरेका छन् । ७ फागुनदेखि सुरु हुने महासमिति बैठकको एजेण्डा तय गर्न बसेको केन्द्रीय समिति बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमा हिन्दूराष्ट्रको एजेण्डा समावेश नभएकोमा २२ जना केन्द्रीय सदस्यले असन्तुष्टि जनाएका हुन् । उनीहरुले सभापति शेरबहादुर देउवालाई भेटेर महासमिति बैठकमा छलफल गरेर सनानत हिन्दु राष्ट्रको पक्षमा उभिनुपर्ने पुरक प्रस्ताव बुझाएका छन् । शनिबार सानातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियान घोषणाको तयारीमा रहेका उनीहरुले महासमिति बैठकबाट कांग्रेस वैदिक सनातन हिन्दु धर्मको पक्षमा उभिनुपर्ने माग गरेका छन् । कांग्रेस जस्तो व्यापक जन आधार भएको प्रजातान्त्रिक पार्टीले ९४ प्रतिशत भन्दा बढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पुरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिएको उनीहरुको प्रस्तावमा उल्लेख छ ।

प्रतिक्रिया