परराष्ट्रमन्त्री साउद र न्यूजिल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री पिटर्सबीच भेटवार्ता

परराष्ट्रमन्त्री एनपी साउद र न्यूजिल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री विन्सटोन पिटर्सबीच आज भेटवार्ता भएको छ । न्यूजिल्यान्डको भ्रमणमा रहेका परराष्ट्रमन्त्री साउद र उपप्रधानमन्त्री पिटर्सबीच विलिङ्टनमा भएको द्विपक्षीय बैंठकमा द्विपक्षीय सम्बन्ध सन्तोषपूर्ण रहेको निष्कर्ष निकाल्दै द्विपक्षीय सम्बन्धको समान चासोका विषयमा सहकार्य गर्ने कुरामा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।   त्यस्तै, उक्त अवसरमा दोस्रो नेपाल–न्यूजिल्यान्ड परराष्ट्र मन्त्रालय परामर्श संयन्त्रको बैंठक पनि भएको छ । उक्त अवसरमा द्विपक्षीय सम्बन्धका विविध पक्ष गर्ने र आर्थिक तथा सांस्कृतिक संलग्नताबाट दुई मुलुकबीचको सहकार्यलाई बढाउँदै लाने विषयमा छलफल भएको हो ।परामर्श संयन्त्रको बैंठकमा नेपालको तर्फबाट दक्षिण पूर्वी एसिया तथा प्रशान्त महाशाखाकी प्रमुख सहसचिव रिता धितालले नेतृत्व गरेकी थिइन् । साथमा न्यूजिल्यान्डका लागि गैरआवासीय राजदूत कैलाशराज पोखरेलको पनि सहभागिता रहेको थियो । संयन्त्रको बैंठकमा न्यूजिल्यान्डको तर्फबाट दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका महाशाखा प्रबन्धन जोआना केम्पकर्सको सहभागिता रहेको थियो । अस्ट्रेलियाबाट न्यूजिल्यान्ड पुगेका परराष्ट्रमन्त्री साउद बिहीबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया