पाल्पा जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुग्यो,  घाइतेका उपचार जारी

पाल्पामा मंगलबार अपराह्न भएको जीप दुर्घटनामा दश जनाको मृत्यु भएको छ । रुआठजनाको घटनास्थलमै र दुईजनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । तिनाउ गाउँपालिका–६ मस्यामका २८ वर्षीया उर्मिला अस्लामी, ३९ वर्षीय रामबहादुर अस्लामी, ६० वर्षीया यनकुमारी पन्त र ६७ वर्षीय कृष्णबहादुर अस्लामीको मृत्यु भएको हो । यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका–१४ तामनगर बस्ने ७० वर्षीय चन्द्र रणपाल र श्रीमती ६० वर्षीय चुना रणपालको मृत्यु भएको हो । तिनाउ गाउँपालिका–२ खुर्सानेकी २० वर्षीया गीता सुनार,  रूपन्देही देवदह नगरपालिका–५ की २९ वर्षीया दिलमाया जिसी, रिब्दीकोट गाउँपालिका–१ ख्याहाका ६५ वर्षीया दिलकुमारी सुनार र ६६ वर्षीया विष्णुकला कामीको पनि ज्यान गएको हो । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइते सबैको तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । तानसेन नगरपालिका–८ डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको मुस्ताङ जीप तिनाउ गाउँपालिका–६ मस्यामस्थित इकोफम हाउसनजिकै दुर्घटना भएको थियो । मंगलबार अपराह्न करिब ५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खसेको हो । जीपका चालक दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैविच पाल्पाको तिनाउ गाउँपालिकाले मंगलबार साँझ भएको दुर्घटनाका पीडित परिवारलाई राहत दिने भएको छ । गाउँपालिकाको कार्यपालिका बैठकले मृतकका परिवारलाई राहत स्वरूप ३५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । त्यस्तै गाउँपालिकामा आज शोक बिदा समेत दिएको छ ।। 
 

प्रतिक्रिया