औपचारिक रूपमा प्रतिबन्ध खुला गर्न सरकारलाइ टिकटकको आग्रह
भिडियो प्ल्याटफर्म सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारलाई पत्र लेख्दै औपचारिक रूपमै प्रतिबन्ध खुला गर्न आग्रह गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टिकटकले लेखेको पत्रमा पाँचबुँदे प्रतिबद्धता पनि व्यक्त गरिएको छ। टिकटकले नेपालको कानुनी प्रक्रियाप्रति प्रतिबद्ध रहेको प्रस्ट पारेको हो । त्यसै गरी टिकटकमा प्रसारित सामग्रीलाई प्रत्यक्ष रूपमै रिपोर्टिङ गर्ने पहुँच र सामग्रीसँग सम्बन्धित सरोकारलाई सम्बोधनका लागि सम्पर्क सूत्र बनाउने पनि प्रस्ट पारेको छ। टिकटकले प्रसारित सामग्रीका सन्दर्भमा फिल्टरिङ र मध्यस्थता अझै वृद्धि गर्न नेपालीभाषी स्रोतलाई अझ विस्तार गर्ने पनि जनाएको छ। साथै राष्ट्रव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान सुरु गर्न पनि टिकटकले सरकारलाई आग्रह गरेको छ। टिकटकले विद्यालय र क्याम्पसका विद्यार्थीलाई लक्षित गरी शैक्षिक नतिजा सुधार गर्न शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाई डिजिटलाइज्ड गर्न सहकार्यको पनि प्रस्ताव गरेको छ। टिकटकले समुदायसम्बन्धी दिशानिर्देशलाई पूर्ण पालना गरिरहेको दाबी गर्दै नेपाल र विदेशमा बसोबास गर्ने नेपालीमाझ यस प्ल्याटफर्मको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। टिकटकले उल्लिखित विषयमा सांस्कृतिक र कानुनी पक्षको पूर्ण पालना गर्दै सहकार्यको प्रस्ताव गरेको हो। गत कात्तिक २७ गते मन्त्रीपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो। नेपाल सरकारले ‘सामाजिक सद्भाव र वातावरणमा खलल पु¥याउन भूमिका खेलेको’ भन्दै सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया