दुर्गा प्रसाईँको नेतृत्वमा काठमाडौँमा आज प्रदर्शन हुदै

मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा काठमाडौँमा आज प्रदर्शन हुने भएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत विभिन्न गतिविधि गर्दै आएका प्रसाईँको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन हुन लागेको हो । प्रदर्शनमा राजावादी र हिन्दुवादीहरूको समर्थन रहेको आयोजकको दाबी छ । प्रसाईले लघुवित्त, सहकारी र बैंकबाट पीडितहरुको ऋण मिनाहा लगायतका माग राखेर काठमाडौंमा विरोध प्रदर्शन गर्न लागेका हुन् । राष्ट्रिय झण्डा बोकेर गर्न लागिएको प्रसाईको प्रर्दशनमा राप्रपाका कार्यकर्तासमेत सहभागी हुने अनुमान गरिएको छ । अभियानले सहभागीलाई भृकुटीमण्डपसम्म पुग्नका लागि ७ वटा रुट तय गरेको छ । ती सातवटै रुटका लागि नेतृत्व र व्यवस्थापन गर्न अलगअलग टोली खटाइएको छ । एउटा टोली नारायणगोपाल चोकबाट नाराजुलुससहित लाजिम्पाट हुँदै भृकुटीमण्डप पुग्नेछ । अन्य टोलीहरू क्रमशः चाबहिल, कोटेश्वर–बानेश्वर, लगनखेल, बल्खु, कलंकी, कीर्तिपुर, बालाजु–नयाँ बसपार्कमा भेला भएर कार्यक्रमस्थल पुग्ने योजना बनाइएको छ । यसअघि गत मंसिर ७ गते रिङरोडमा भएको प्रदर्शनमा करिब ७ हजारको सहभागिता रहेको थियो । पूर्वराजा ज्ञानेन्द्र शाह आउने भनेर प्रचार गरिएपनि उनी भने सहभागी नहुने बताइएको छ । साता दिनका लागि पूर्वराजा चितवनमा रहेका छन । प्रसाईले गत वर्ष झापामा पूर्वराजा ज्ञानेन्द्र शाहले बालेको दियो टुँडीखेलमा पुनः प्रज्वलन गर्ने भन्दै पूर्वराजालाई समेत टुँडीखेल आउन निम्तो पठाएका थिए ।। 

प्रतिक्रिया