माओवादी केन्द्र सहितका घटकले जनयुद्ध दिवस मनाउँदै, सङ्क्रमणकालीन न्याय भने अधुरै

माओवादी केन्द्रले आज जनयुद्ध दिवस मनाउँदैछ । २०५१ साल फागुन एक गते सशस्त्र विद्रोह सुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउने गरेको छ । अघिल्लो वर्ष जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएको सरकारले यसपटक भने सार्वजनिक बिदा दिन पाएन । सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा बदर गरेसँगै सरकारले बिदा दिन नपाएको हो । यद्यपी माओवादी केन्द्रले नेतृत्व गरिरहेका देशका कतिपय स्थानीय तहले भने आज बिदा दिएका छन् । सशस्त्र द्वन्द्व सुरु भएको २८ वर्ष र शान्ति प्रक्रियाको पनि १७ वर्ष नाघिसक्यो तर पनि सङ्क्रमणकालीन घाउ अझै पुरिएको छैन ।  तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ साल फागुन १ गते रोल्पाको होलेरी, रुकुमको आठबिसकोट, सिन्धुलीको सिन्धुलीगढी चौकीमा आक्रमण र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैङ्क कब्जा गरी सशस्त्र द्वन्द्व सुरु गरेको थियो र त्यसलाई उसले जनयुद्धको नाम दिएको थियो ।  २०६३ मङ्सिर ५ गते राज्य र विद्रोही पक्षबिच भएको विस्तृत शान्ति सम्झौताबाट विधिवत् अन्त्य भएको सशस्त्र द्वन्द्वका क्रममा १८ हजार ७८ जनाको मृत्यु भएको थियो । एक हजार ७३० जना बेपत्ता र १६ हजार ४ सय ६६ जना घाइते तथा अपाङ्ग भएका थिए । सरकारले जनयुद्धका क्रममा सहिद भएका व्यक्तिको सम्मानस्वरूप आठ हजार ३७१ जनाको नामावली राजपत्रमा प्रकाशित गरेको छ । सत्य निरुपण र बेपत्ता विधेयक टुङ्गो नलाग्दा सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६१ हजार ६  सय १५ मुद्दा र बेपत्ता आयोगमा तीन हजार २ सय ८८ मुद्दाको छिनोफानो लाग्न सकेको छैन । जनयुद्धकै जगमा गणतन्त्र स्थापित भएको माओवादीको दाबी छ ।। 

प्रतिक्रिया