अरुण चौधरीलाइ छाड्न आदेश दिने न्यायाधीश आचार्यलाई मुगु सरुवा

बाँसबारी छाला जुत्ता कारखाना जग्गा विवादमा आदेश गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश आचार्यलाई कारबाही स्वरूप मुगु सरुवा गरेका हुन । न्यायाधीश आचार्यमाथि सम्पत्ति शुद्धिकरणलगायत विषयमा थप अनुसन्धानसमेत हुने बताइएको छ ।बाँसबारी छाला कारखानाको सरकारी जग्गा प्रकरणको अनुसन्धानमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई न्यायाधीश आचार्यको इजलासले हाजिरी जमानीमा छाड्न आदेश गरेको थियो । न्यायाधीश आचार्यको एकल इजलासले उनीहरूलाई दुई दिनमा रिहा गर्न २२ माघमा आदेश गरेपछि आलोचना हुँदै आएको छ । रिहा गर्ने आदेशप्रति उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत संसदीय समितिमै असन्तुष्टि जनाएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चौधरीसहित तत्कालीन अजितनारायण सिंह थापा र ठाकुरलाई माघ १८ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।। 
 

प्रतिक्रिया