खाद्य व्यवस्था कम्पनीमै छैन खाद्यान्नको मौज्दात, आपतकालीन अवस्थामा खाद्य अभाव हुने

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग खाद्यान्नको मौज्दात सकिनै लाग्दा जोखिमपूर्ण अवस्थामा पुगेको  छ ।  भैपरी आउने प्राकृतिक प्रकोप, बाढीपहिरो, भूकम्प जस्ता विपत्तिमा खाद्यान्नको आपूर्ति व्यवस्था सहज बनाउन पर्याप्त मात्रामा खाद्यान्न मौज्दात राख्नुपर्ने व्यवस्था भए पनि कम्पनीसँग न्यून मात्र खाद्यान्न मौज्दात रहेको हो । समयमा खाद्यान्नको मौज्दात पर्याप्त राख्न नसक्दा आपत्कालीन अवस्था आइपरे खाद्यान्नको अभाव हुने देखिएको छ । कम्पनीको मुलुकभर रहेका अधिकांश गोदाम खाली छन् ।  सार्क खाद्य बैङ्कमा आठ हजार मेट्रिक टन र बफर स्टकमा २५ हजार मेट्रिक टन अनिवार्य रूपमा खाद्यान्न मौज्दात राख्नुपर्ने व्यवस्था भए पनि हाल कम्पनीसँग अहिले कुल आठ हजार ९ सय ६३ मेट्रिक टन खाद्यान्न मौज्दात छ ।   कम्पनीसँग हाल पाँच हजार ६ सय ३१ मेट्रिक टन चामल, तीन हजार २६८ मेट्रिक टन धान, ५३ क्विन्टल गहुँ, मास, मुसुरोको दाल १० मेट्रिक टन खाद्यान्न बाँकी छ ।  यसमध्ये २३ दुर्गम जिल्लामा एक हजार २८६ मेट्रिक टन मात्रै चामल मौज्दात छ । काठमाडौँ उपत्यका तथा तराईका जिल्लामा चार हजार ३४४ मेट्रिक टन चामल मौज्दात रहेको कम्पनीले जनाएको छ ।
 

प्रतिक्रिया