आर्थिक मन्दीका कारण नेपालको व्यापारिक मलहरुमा गरिएको लगानी असुरक्षित

काठमाडौ । आर्थिक मन्दीका कारण नेपालको व्यापारिक मलहरुमा गरिएको लगानी असुरक्षित बनेको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा पछिल्ला पाँच वर्षमा ठूलो लगानीमा सञ्चालनमा आएका केही व्यापारिक मलहरु मन्दीकै कारण बन्द भएका छन् । हालैमात्र विराटनगर महानगरपालिका–८ हाटखोलामा सञ्चालित आरके सिटी सेन्टर बन्द भएको छ । २०७६ सालमा एक अर्ब २५ करोड रुपैयाँ लगानीमा खुलेको मल विश्वव्यापी आर्थिक मन्दी, सरकारको नीति, असमान मूल्य र खुला सीमाको फाइदा उठाउँदै उपभोक्ता भारतीय बजारमा आकर्षित हुँदा बन्द भएको हो । 
यसअघि विराटनगरको पहिलो डिर्पाटमेण्ट स्टोर नेपाल बजार पनि बन्द भएको थियो । २०७५ को नयाँ वर्षदेखि सञ्चालनमा आएको भाटभटेनी र सोही वर्षको फागुनबाट सञ्चालनमा आएको सेन्ट्रल बजार गरी अहिले विराटनगरमा दुई व्यापारिक मल सञ्चालनमा छन् । ती मलमा पनि पहिलेको तुलनामा उपभोक्ताको संख्या घटेको छ । आर्थिक मन्दीले गर्दा आम्दानी घटेपछि सर्वसाधारणको क्रयशक्तिमा पनि गिरावट आएको छ । जसले गर्दा उपभोक्ता सस्तो खोज्दै सीमावर्ती भारतीय बजार पुग्ने गरेका छन् । विराटनगरमा भन्दा भारतमा सामानहरु सस्तो पर्ने भएकाले भारतबाटै सामानहरु किनेर ल्याउने गरेको उनीहरुको भनाइ छ । 
कोरोना महामारीपछि आर्थिक गतिविधि चलायमान हुन नसक्दा सर्वसाधारणको आम्दानी घटेको र उनीहरू सुलभ मूल्यको पछि लागेका कारण मलहरू बन्द हुने अवस्थामा पुगेको अर्थविद्हरुले बताएका छन् । 
अर्थविद् आचार्यले मानिसहरुले रोजगारी गुमाउँदा, आर्थिक गतिविधि चलायमान नहुँदा र लगानी गर्न उद्योगी र व्यवसायीहरु हच्किँदा समस्या आएको बताए ।

प्रतिक्रिया