अध्यागमन विभागद्धारा ई.भिसा तथा अनलाइन भुक्तानी सेवाको शुभारम्भ

काठमाडौ । अध्यागमन विभागले ई.भिसा तथा अनलाइन भुक्तानी सेवाको शुभारम्भ गरेको छ । विभागले शुक्रवारदेखि अध्यागमन प्रशासनलाई पूर्ण रुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रवाह गर्ने कार्यको थालनी गरेको हो । माघ महिनाबाट नै हस्तलिखित हस्ताक्षरलाई डिजिटल हस्ताक्षरको प्रयोग गर्नेगरी तयारी गरिरहेको विभागले जनाएको छ । सेवा शुभारम्भ कार्यक्रममा गृहसचिव दिनेश भट्टराईले तत्कालको लागि अनलाईन भुक्तानी नेपालभित्रबाट मात्रै गर्न सकिने अनुमति भएको भन्दै आगामी दिनमा अनलाइन भुक्तानीलाई अन्तर्राष्ट्रिय रुपमा भुक्तानी गर्नसक्ने बनाउने प्रतिवद्धता समेत जनाए । 
अनलाइन सेवा शुभारम्भ भएसँगै नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्न, पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राहीहरु भौतिक रुपमा अध्यागमन कार्यालयमा उपस्थित हुनुपर्ने, आवेदन दिन र भुक्तानी गर्न लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । अब नाता र विवाहको आधारमा गैरपर्यटक भिसा लिने बाहेक अन्य सेवाग्राही विभाग आउनुपर्ने छैन । सबै प्रक्रिया अनलाइनमार्फत हुने र अन्तिममा भिसा स्टिकर टाँस गर्न मात्रै विभाग वा नेपालको जुनसुकै अध्यागमन कार्यालयबाट गर्न सकिने भएको छ । अध्यागमन विभागबाट लिने सेवा शुल्क, भिसा शुल्क तथा जरिवानाहरु सबै नेपाली बैंकहरुका मोबाइल बैंकिङ एपको क्युआर तथा वालेट सेवा प्रदायक कनेक्ट आइपीएस, इसेवा र खल्तीबाट अनलाइनमार्फत भुक्तानी गर्नसक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया