हुलाकको संगठन संरचना परिवर्तन गरिने

सरकारले हुलाकको संगठन संरचना परिवर्तन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ‘एक पालिका एक हुलाक’ कायम गर्ने र हुलाक सेवा अन्तर्गतका १ हजार ६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको हो ।   मन्त्रिपरिषदको निर्णयले हुलाकको केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज भएका छन् । सरकारले संगठन तथा व्यवस्थापन सर्भेमार्फत हुलाकतर्फका करिब १ हजार ६ सय ३६ कर्मचारीको स्थायी दरबन्दी कटौती गरेको हो । 
चालु आर्थिक वर्ष २०८०/८१को बजेटले सरकारले जिल्ला र इलाका र अतिरिक्त हुलाक कार्यालयहरु खारेज गर्ने र प्रत्येक स्थानीय तहमा हुलाक कार्यालय स्थापना गर्ने घोषणा गरेको थियो । यही घोषणाअनुसार जिल्ला र इलाका हुलाक कार्यालयसहित हुलाक निर्देशनालयहरुको पुनर्संरचना गर्दै स्थायी दरबन्दीको पुनरावलोकन भएको हो । सरकारले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयार विकास समिति गठन आदेश २०८० बमोजिम अध्यक्ष पदमा महोत्तरी जिल्लाका डा. पर्शुराम मिश्रलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ । 

प्रतिक्रिया