नाउपा अध्यक्ष रेशम चौधरीले भेटे प्रधानमन्त्री दाहाललाई

नागरिक उन्मुक्ति पार्टीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा थारु र मधेस आन्दोलनका विषय पनि समेट्न सरकारसँग आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज सिंहदरबारमा भेटेर उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले विधेयकमा मधेस र थारुको विषय पनि समेट्न आग्रह गरेका हुन् । भेटमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका सम्बन्धमा र अन्य विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष चौधरीले थारु र मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा सर्वसम्मतरुपमा फिर्ता गर्न आग्रह गरेका थिए । त्यस्तै  लाल आयोगको प्रतिवेदन, भूमिहीन जनतालाई लालपुर्जा दिन ढिलाइ भएको विषय, देशभरिका कृषियोग्य जमिन लिजमा दिने व्यवस्था र टीकापुर विमानस्थलको स्त्तरोन्नति र सञ्चालनबारे पनि प्रधानमन्त्री दाहाल र अध्यक्ष चौधरीबीच कुराकानी भएको थियो ।बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक यही अधिवेशनबाट सहमतिमा पास गर्ने गरी प्रधानमन्त्री दाहालले केही समयदेखि छलफल गर्दै आएका छन । 

प्रतिक्रिया