नयाँ सरकार गठनका लागि पाकिस्तानमा आम चुनाव जारी

पाकिस्तानमा आज आम चुनाव भैरहेको छ । जेलमा रहेका पाकिस्तानी पुर्व प्रधानमन्त्री इमरान खानले मतदान गरेका छन् । पाकिस्तानी समाचार संस्था डान न्युजका अनुसार पुर्व प्रधानमन्त्री खानले हुलाक मतपत्रबाट भोट गरेका हुन । निर्वाचनका लागि देशभर ९० हजार ६ सय ७५ मतदान केन्द्र तोकिएका छन् । चुनावमा एक सय ६७ राजनीतिक दल र स्वतन्त्र गरी पाँच हजार एक सय २१ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन । पूर्वप्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिगदेखि बिलावाल भुट्टो र आसिफ अली जरदारीको नेतृत्वमा रहेको पाकिस्तान पिपुल्स पार्टीले उम्मेद्वार खडा गरेका छन् ।जेलमा रहेका इमरान खानको पाकिस्तान तहरीक–ए–इनसाफ पाटीको चुनाव चिन्ह खारेज भएकाले यसका उम्मेदवार स्वतन्त्ररूपमा चुनावी प्रतिस्पर्धामा छन् । पाकिस्तानमा १२ करोड ८५ लाख जना मतदाता छन् । यसअघि २०१८ मा भएको आम चुनावमा ५२ प्रतिशत नागरिकले आफ्नो मताधिकार प्रयोग गरेका थिए । पाकिस्तानमा दुई सदनात्मक संसदीय प्रणाली छ । राष्ट्रिय सभाका सदस्य नागरिकले चुन्ने व्यवस्था छ । राष्ट्रिय सभामा कुल ३ सय ३६ सिटमध्ये २ सय ६६ सिटका लागि नागरिकले मतदान गर्न लागेका हुन् । यसैबीच, चुनावको पूर्वसन्ध्यामा पाकिस्तानको बलोचिस्तान प्रान्तमा भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या २८ पुगेको छ । चुनावको अघिल्लो दिन भएको विस्फोटले मतदातामा त्रासको वातावरण सिर्जना भएको छ । 
 

प्रतिक्रिया