गाजा क्षेत्रमा युद्धविराम गर्ने इजिप्टको प्रस्तावमा हमास सकारात्मक

इजिप्टले गाजा क्षेत्रमा संघर्षविरामको प्रस्तावमा हमासको सकारात्मक प्रतिक्रिया आएको जनाएको छ । संघर्षविरामको प्रयासलाई सार्थक बनाउन प्रयास भइरहेको पनि इजिप्टको भनाइ छ । इजिप्टको सुरक्षा स्रोतले हमासले संघर्षविरामको प्रस्तावमा लचकता अपनाएको र निश्चित समयसीमा मागेको बताएको छ । हमासले अप्रिलको पूवार्धमा मनाइने मुसलमानको पर्व इद उल फित्रसम्म संघर्षविराम गर्न चाहेको हो । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले हिजो अमेरिकी विदेशमन्त्री अन्टोनी ब्लिङ्केनसँगको भेटमा हमासको सो चाहना रहेको बताएका हुन । पश्चिम एसियाको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री ब्लिङ्केन आज इजरायल पुग्दै छन् । यता, इजरायली सेनाले भने हमासले बन्धक बनाएका एक सय छत्तीसमध्ये ३१ जनाको मृत्यु भइसकेको बताएको छ । गत नोभेम्बरमा सात दिने संघर्षविराममा एक सय दश जना इजरायली र विदेशी बन्धक तथा दुई सय चालीस जना प्यालेस्टिनी कैदी मुक्त भएका थिए । 
 

प्रतिक्रिया