विकास आयोजनास्तरीय दबाब अभियानलाई राजनीतिक रंग पोत्न खोजे: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’का सभापति रवि लामिछानेले आफूहरूले दबाब यात्राको लागि छानेको आयोजनामा राजनीतिक र कूटनीतिक रंग पोत्न खोजेको बताएका छन् । रास्वपाको दबाब यात्रा सिन्धुपाल्चोकको मेलम्चीबाट सुरुवाता गर्दै उनले जनताको जीविकासँग कसैलाई राजनीति नगर्न आग्रह गरेका हुन । रास्वपा जनतासँग जोडेर संसद्, समिति सडक सबैतिर देखिने सभापति लामिछानेको भनाइ छ । उनले हिजोका क्रान्तिमा रगत बगेको भन्दै अबको निलो क्रान्तिबाट पसिना बगाउन चाहेको उल्लेख गरे । सभापति लामिछानेले रास्वपाको उपस्थिति नयाँ पुस्ताका लागि मात्रै नभएको भन्दै अबको समाज कस्तो हुने भन्नेबारेमा पनि सचेत हुनुपर्ने बताए । रास्वपाले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरुआत गरेको हो ।अगामी चैत २१ सम्म जारी रहने पहिलो चरणको अभियानको पार्टी सभापति लामिछानेले मेलम्चीबाट थालेका हुन । ‘राष्ट्रव्यापी दबाब अभियान’ को सुरुआत मेलम्ची खानेपानी आयोजना स्थलबाट भएको हो । मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गरिएको पार्टीको भनाइ छ । सिन्धुपाल्चोक–काठमाडौँ दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गरेकी छिन । पदयात्राका क्रममा स्थानीय बस्तीका बासिन्दाको सुझाव तथा गुनासासमेत लिइने बताइएको छ ।मेलम्चीस्थित खानेपानी कार्यालय, पिपलबोटबाट पदयात्रा सुरु गरी हेलम्बुस्थित अम्बाथान मुहानसम्म पुग्ने कार्यक्रम तय भएको जनाइएको छ ।दबाब यात्रामा सांसदसहित २१ जनाले अगुवाइ गर्नेछन् । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ । 
 

प्रतिक्रिया