नयाँ प्रणालीले अधिकांश भेगमा दुई दिन वर्षा हुने

हिउँदे वर्षा गराउने अर्को नयाँ प्रणाली नेपाल भित्रिएको छ । नयाँ प्रणालीका कारण शनिबार रातिदेखि देशका विभिन्न स्थानमा बदली सुरु भएको छ । आजदेखि दुई दिन देशका अधिकांश भेगमा वर्षा हुने गरी पश्चिमी न्यून चापीय प्रणालीको आगमन भएकाले वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । नयाँ प्रणालीले बिहीबारको भन्दा बढी वर्षा र हिमपात गराउने महाशाखाले जनाएको छ । गत बुधबार भित्रिएको प्रणालीले कर्णाली, सुदूरपश्चिम नेपालका अधिकांश स्थानमा वर्षा र हिमपात गराएको थियो । नयाँ प्रणालीले बागमती प्रदेशको काठमाडौँलगायतका स्थानमा पनि वर्षा गराउने सम्भावना रहेको छ । दुई दिनअघि काठमाडौँमा छिटपुट मात्र वर्षा भएको थियो । आज वर्षाको हकमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, कोशी प्रदेशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै सोही भेगका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुने छ । यो पटक ती प्रदेशका तराई भेगमा पनि वर्षा हुने सम्भावना रहेको छ ।  चितवनदेखि पूर्वको तराईमा भने बदलीदेखि फाटफुट मात्र वर्षा हुने छ । आज र सोमबार हुने वर्षाका कारण यो पटक न्यूनतमसँगै अधिकतम तापक्रममा गिरावट आउने तथा थप चिसो बढ्ने मौसमविदको भनाइ छ । चिसोका कारण दैनिक जनजीवन, पर्वतारोहण, हवाई यातायातको आवागमनमा पनि असर पर्ने भएकाले सचेतना जारी गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ । सोमबार साँझबाट मौसममा सुधार आउने सम्भावना रहेको छ ।।
 

प्रतिक्रिया