इराक र सिरियाका विभिन्न स्थानमा अमेरिकाको निरन्तर आक्रमण

अमेरिकाले इराक र सिरियाका पचासीभन्दा बढी स्थानलाई लक्षित गरी गरेको हवाई आक्रमणमा कम्तीमा चालीस जनाको ज्यान गएको छ । अमेरिका र बेलायतले यमनको हुथी सशस्त्र समूहविरुद्धको कारबाहीका क्रममा कम्तीमा तेह्र स्थानमा आक्रमण गरेका हुन । अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले हुथी विद्रोहीलाई कमजोर पार्न खोजिएको जानकारी दिएका छन । पश्चिम एसियामा अमेरिकाले थालेको सैन्य कारबाहीका विषयमा सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपतकालीन बैठक बस्दैछ । रुसको प्रस्तावमा सुरक्षा परिषद्को बैठक बस्न लागेको हो । अमेरिकाले अन्तर्राष्ट्रिय कानुनलाई बेवास्ता गरेको रुसको आरोप छ । इरानले सिरिया र इराकमा इरानसँग जोडिएका धेरै लक्ष्यमा अमेरिकाले गरेको आक्रमणलाई ’रणनीतिक गल्ती’ भनेको छ । इरानको विदेश मन्त्रालयले सिरिया र इराकमा भएको आक्रमणले ’क्षेत्रमा बढ्दो तनाव र अस्थिरता बाहेक अरू कुनै नतिजा नहुने’ बताएको हो । यसअघि इराकले पनि अमेरिकी आक्रमणले यस क्षेत्रमा ‘विनाशकारी नतिजा’ ल्याउने बताएको थियो । आइतबार इरान समर्थित लडाकु समूहको आक्रमणमा तीन अमेरिकी सैनिक मारिएपछि अमेरिकाले इराक, यमन र सिरियामा सैन्य कारबाही थालेको हो ।। 
 

प्रतिक्रिया