सिरिया र इराकमा इरानसँग जोडिएका क्षेत्रमा अमेरिकाद्वारा हवाई आक्रमण

काठमाडौं । अमेरिकाले सिरियामा इरानी लक्ष्यहरूमा गरेको प्रतिशोधात्मक हमलामा परी १३ जना इरान समर्थक लडाकुको मृत्यु भएको छ । अमेरिकाले शुक्रवार राति पूर्वी प्रान्त देइर अल–जोरमा इरान समर्थक लडाकुहरूको गढलाई लक्षित गरी इरानी लक्ष्यहरू विरुद्ध प्रतिकारात्मक हमला गरेको हो । हवाई आक्रमणले अल–मायादीन शहरको मरुभूमिमा रहेको हैदरिया क्षेत्रका साथै अल–मायादीनको ग्रामीण इलाकामा रहेको ऐन अली र अल–शिब्लीको तीर्थस्थलहरूलाई निशाना बनाएको थियो । सिरियाली इराकी सीमा नजिकै अल–बुकमाल शहरको अल–हिजाम क्षेत्र र औद्योगिक छिमेकलाई पनि अमेरिकाले निशाना बनाएको हो । अमेरिकी युद्ध जेटहरूले अल–जोरमा १७ साइटहरू ध्वस्त पारेको जनाइएको छ । अमेरिकी आक्रमण हुनुभन्दा दुई घण्टाअघि अब्जर्भेटरीले इजरायली र पश्चिमी इलेक्ट्रोनिक इन्टेलिजेन्स र हवाई निगरानी विमानहरूले मध्य र दक्षिणी सिरियातर्फ सिरियाली भूभागमा गहिरो जासुसी गरिरहेको बताएको थियो । गत आईतवार जोर्डनमा रहेको एक अमेरिकी आधार शिविरमा ड्रोन आक्रमण हुँदा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो । गाजामा इजरायली सैन्य अभियानको विरोध गर्दै सिरिया र इराकमा अमेरिकी अड्डाहरूमा ड्रोन आक्रमणलाई तिब्र पारेका इरान समर्थक मिलिशियाहरूलाई आक्रमणको लागि दोषी ठहराइएको थियो ।  इजरायलले पनि सिरियामा रहेको इरानी केन्द्रहरुमा आफ्नो आक्रमण बढाएको छ । सिरियामा आईआरजीसीका धेरै सदस्यहरू मारिएको बताइएको छ ।

प्रतिक्रिया