अरुणकुमार चौधरीलाई पक्राउ गरिएकोमा उद्योग वाणिज्य महासंघकाे आपत्ति

सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई पक्राउ गरिएकोमा नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ । महासंघले आज एक विज्ञप्ती प्रकाशित गर्दै उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड एवं पक्राउबारे नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटकपटक आग्रह गर्दै आएको समेत स्मरण गराएको छ । पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको विज्ञप्तीमा उल्लेख छ । महासंघले पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।  केही महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन गइरहेको सन्दर्भमा यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने भन्दै महासंघले सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ । चौधरीले बाँसबारी जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका हुन । 
 

प्रतिक्रिया