अरुण चौधरीलाई पक्राउ गरिएकाेमा उद्योग परिसंघको आपत्ति

निजी क्षेत्रलाई त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी अरुण चौधरीलाई पक्राउ गरिएको भन्दै नेपाल उद्योग परिसंघले आपत्ति जनाएको छ । परिसंघले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी चौधरीलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएको हो । परिसंघले चौधरी नेपालका एक प्रतिष्ठित उद्यमी भएको र देश छाडेर नभाग्ने भएपनि सरकारले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकडशैलीमा पक्राउ गरिनु निजी क्षेत्र माथिको प्रहार भएको बताएको छ । 
नेपाल उद्योग परिसंघका निःवर्तमान अध्यक्ष विष्णु अग्रवालले दोषी प्रमाणित नभएसम्म उद्योगी व्यवसायीलाई थुनामा राख्न नहुने बताए । उनले आशंकाकै भरमा थुन्ने काम गर्दा निजी क्षेत्र हतोत्साहित हुने दाबी गरे । 
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रलाई सबैतिरबाट आक्रमण भइरहेको बताए । उनले व्यवसायीहरुलाई धरपकड गर्ने हो भने निजी क्षेत्रले राम्रोसँग काम गर्न नसक्ने भन्दै राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिए । 
व्यवसायीहरुले चौधरी पक्राउ घटनाले सरकारले आर्थिक समृद्धिमा निजीक्षेत्रको उपध्येयीतालाई उपेक्षा गरेको हो कि भन्ने आशंका पैदा भएको बताए । उनीहरुले कसुर प्रमाणित भए दोषी व्यक्ति कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा आफूहरुको विमति नभएको पनि बताए ।

प्रतिक्रिया