आजबाट वर्षा र हिमपातसँगै चिसो बढ्ने मौसम विभागको पूर्वानुमान
पश्चिमी न्यूनचापीय प्रणाली आजबाट नेपाल प्रवेश गर्ने भएकाले वर्षा र हिमपातसँगै चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही भू–भागमा आज हिमपात, वर्षा हुने भएकाले चिसो थप बढ्ने भएको हो । न्यूनचापीय प्रणालीका कारण आज अपराह्नबाट सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्नेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका अन्य पहाडी भू–भागका धेरै स्थानमा बदली हुने सम्भावना छ । सोही प्रणालीका कारण आजदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा तथा वाग्मती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरूका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भू–भागमा तथा वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । शुक्रबारबाट क्रमशः सुदूरपश्चिम प्रदेशबाट मौसममा सुधार हुँदै जाने विभागले स्पष्ट पारेको छ ।
प्रतिक्रिया