महाकुलुङ गाउँपालिकामा अन्तर माबि स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
सोलुखुम्बु सदरमुकाम सल्लेरी बाट सुदुरपुर्वमा रहेको महाकुलुङ गाउँपालिकामा हिजो देखि अन्तर माबि स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । छेस्काम माबिको प्राङ्गणमा सुरु कार्यक्रमको महाकुलुङ गाउँपालिका उपाध्यक्ष तथा उदघाटन कार्यक्रमकी प्रमुख अतिथी बिपना कुलुङ राईले एक कार्यक्रमका बिच उदघाटन गरेकी हुन । खेल प्रतियोगितामा पालिकाका प्रमुख प्रशासकीय अधिकृत , शिक्षा शाखाका कर्मचारी , विभिन्न माबिका प्रअहरु सहित विभिन्न खेलमा सहभागी महिला तथा पुरुष खेलाडीहरुको बाक्लो उपस्तिथि रहेको छ । २ दिनसम्म चल्ने राष्ट्रपति रनिङ्ग शिल्डमा महिला तथा पुरुष भलिबल , दौड , एथलेटिक्स , कवड्डी हाइजम्प र लङजम्प जस्ता खेलहरुमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । गाउँपालिका उपाध्यक्ष राईले कार्यक्रम लाई सम्बोधन गर्दै खेलकुदले खेलाडीहरु लाई स्वस्थ र अनुशासित बन्न प्रेरणा दिनुका साथै खेलकुद मार्फत पनि आफ्नो गाउँ समाज र राष्ट्रको बिकासमा अतुलनीय योगदान दिन सकिने भएकोले खेलाडीहरु लाई आफ्नो क्षमताको अनुशासित र मर्यादित भएर प्रदर्शन गर्न अनुरोध गरिन । गाउँपालिका भित्र हुने यस्ता प्रतियोगिताले आफ्नो गाउँमा रहेका प्रतिभाहरुको पहिचान गर्न सहयोग पुग्ने भएकोले खेलकुद क्षेत्र प्रती पालिका सधैं सकारात्मक रहने प्रतिबद्धता उनले व्यक्त गरिन । पालिकाले खेलकुदको बिकासको लागि विभिन्न पुर्वाधार र खेलमैदान निर्माणमा ध्यान दिनुपर्ने सहभागी खेलाडीहरुको माग रहेको छ । महाकुलुङ गाउँपालिकामा ३ वटा माबी रहेका छन भने अध्यक्ष सुर्य कुलुङ स्वास्थ्यमा समस्या आएकोले उपचारका लागि काठमाडौ रहेका छन ।
प्रतिक्रिया