नेपाल चीन सम्बन्धमा खेल्नेहरु धेरै छन्: सीपीसी उपमन्त्री हाइयान

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल र चीनको सम्बन्धमा अन्य मुलुकले खेल्न खोजेको बताएकी छन् । नेपालको तीन दिने भ्रमणमा काठमाडौंमा विभिन्न राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया गर्दै हाइयानले दुई देशको राजनीतिक सम्बन्ध राम्रो रहेको बताउँदै अन्य केही मुलुकले यस्तो देख्न नचाहेको बताएकी हुन् । उनले नेपाल भ्रमणमा आएर राजनीतिक दलसँग संयुक्त परामर्श गर्नुको कारण दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउनु रहेको बताइन् । उनले दुवै देशका राष्ट्राध्यक्षले सम्बन्धलाई सुदृढीकरण गर्न प्रयासरत रहेको भन्दै सहमती र समझदारी पत्रमा भएको हस्ताक्षरले पनि दुई देशबीचको सम्बन्ध प्रगाढ बनाएको बताइन् । ‘मैले यसपटक सीपीसीको नेतृत्व गर्दै धेरै भेटघाट गरें । हाम्रो राजदूतले पनि धेरै मेहनत साथ काम गरिराख्नु भएको छ,’ उनले भनिन्, ‘नयाँ युगमा चीन नेपाल सम्बन्धलाई कसरी राम्रो बनाउने र सहकार्य गर्न भन्नेमा हामीले काम गर्न जरुरी छ ।’ उनले नयाँ परिस्थितिमा नेपाल चीन सम्बन्ध कस्तो बनाउने? त्यसमा राजनीतिक दलको भूमिका कस्तो हुने? भन्ने विषयमा पनि गृहकार्य गर्नुपर्ने आवश्यक्ता औंल्याइन् । ‘नेपालमा चिनियाँ पर्यटक धेरै आउनु भएको छ । यो नेपाललाई पनि महसुस भएकोहुनुपर्छ,’ उनले भनिन्, ‘तर एउटै क्षेत्रमा मात्रै भर पर्नु हुँदैन । म नेपाल आउनुअघि चिनियाँ उद्यमीसँग छलफल गर्दा नेपालमा लगानी गर्नुपर्ने कुरा राखेको थिएँ । तर त्यसका लागि यहाँ नीतिगत सुधारको जरुरी छ ।’ उनले छिमेकी मुलुकका विकास पूर्वाधारमा चीनले लगानी गरेको र त्यसको एउता उदाहरण इन्डोनेसिया भएको बताइन् । साथै, कोभिड मात्रै नभै विभिन्न कारणले काम नेपालमा चिनियाँ लगानीमा सम्पन्न भइरहेका योजना सम्पन्न गर्न ढिलाइ भैरहेको बताइन् । ‘हामी बसेर यसको समाधान गर्नुपर्छ । हामी धेरै भन्दा धेरै साँस्कृतिक आदानप्रदान गर्नुपर्छ । धेरैभन्दा धेरै छात्रवृत्ति नेपाली विद्यार्थीलाई दिने चाहना अनुरुप काम गरिरहेका छौँ,’ उनले भनिन्, ‘जिविको पार्जनका लागि पनि नेपालमा परियोजना आवश्यक रहेको बुझेका छौँ । त्यसका लागि पनि हामी काम गरिरहेका छौँ । तर त्यसका लागि नीतिगत सुधार जरुरी छ । यहाँको जनताले त्यो पाउनुपर्छ ।’ उनले दुई देशका राजनीतिक दलबीच सम्बन्ध सुधार हुनुपर्ने र कतिपय मुलुक चीन नेपालबीच राम्रो सम्बन्ध भएको देख्न नचाहिरहको उनको भनाइ थियो । ‘उनीहरू आउँछन् र जान्छन् । त्यसले असर गर्ने भनेको नेपाल र चीनका जनतालाई नै हो,’ उनले भनिन्, ‘त्यसैले यसको लक्ष्य निर्दिष्ट गरेर अघि बढ्न जरुरी छ । कठिनाइको सामना गर्न मिलेर काम गर्नुपर्छ । सहकार्यलाई अझ व्यवहारीक बनाउनुपर्छ ।’ गएको वर्षदेखि चीनको आर्थिक सुधार भएको भन्दै त्यसलाई नेपालले सदुपयोयोग गर्न सक्ने प्रचुर सम्भावना रहेको उनको भनाइ थियो । विशेषगरि चिनियाँ शैलीको विकास निर्माण गर्ने र बीआरआईलाई कार्यन्वयन गर्नुपर्नेमा उनको जोड थियो । यस्तै नेपालका लागि चिनियाँ राजदूत छन संगले आफू पहिलोपटक नेपाल आउँदा चिनियाँ नागरिक खै भनेर सोध्ने गरेको, तर अहिले नेपालमा चिनियाँ आउन थालेका बताए । ‘खुसीको कुरा हो । राष्ट्रपति सीले भनेजस्तै महामारीले सम्बन्धमा कुनै असर गर्दैन,’ उनले भने, ‘हामी दुई देशको सम्बन्ध सुधार गर्न लागेका छौँ । प्रम प्रचण्डको भ्रमणमा नयाँ सहमती भए, त्यसले सम्बन्धमा नयाँ उचाइमा पु¥याएको छ ।’ उनले नेपाल चीनबीचको सम्बन्ध अझ कसरी अगाडी बढाउने भनेर सल्लाह गर्न आवश्यक रहेको बताए । साथै, चीन नेपालको औद्योकिरणका लागि सघाउन तत्पर रहेको भन्दै नीतिगत रुपमा रहेका समस्या हल गर्न नेपालले काम गर्नुपर्ने बताए । उनले नेपालबाट १५० जनालाई छात्रवृत्ति दिने कार्यक्रम बनाएको जानकारी दिँदै नेपाली युवालाई चीन गएर अध्ययन गर्न अनुरोध समेत गरे ।

प्रतिक्रिया