गठबन्धनको नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजान नेपालको आग्रह

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले सरकारले मुलुकको आर्थिक क्षेत्रको सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासनका निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने बताएका छन् । आईतवारबाट काठमाडौंमा शुरु भएको पार्टीको केन्द्रिय परिषद् बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले मुलुकमा विद्यमान व्यवस्थाबिरुद्ध प्रतिगामी तत्वहरुले विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको भन्दै त्यसलाई निस्तेज पार्न सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, संविधानको रक्षा र आवश्यक्ता अनुसार परिमार्जन गरी देशको अर्थतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताएका हुन् । उनले गठबन्धन दलहरुले तयार पारेका न्युनतम नीति तथा कार्यक्रमलाई अझ गतिका साथ कार्यान्वयनमा लैजान सरकारलाई सुझाव पनि दिए । अध्यक्ष नेपालले राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा सन्तुलित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउन पनि सचेत गराए । 
अध्यक्ष नेपालले राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनभित्र उलटफेर ल्याउने एमालेको प्रयासलाई आफूहरुले असफल बनाएको दाबी समेत गरे । 
अध्यक्ष नेपालले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउनका लागि आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने दाबी समेत गरे ।

प्रतिक्रिया