कर्मचारीमाथि हातपात भएको घटनाबारे छानविन गर्न गृहमन्त्रालयद्धारा समिति गठन

काठमाडौं । त्रिभुवन विमानस्थलमा प्रहरीबाट अध्यागमनका कर्मचारीमाथि हातपात भएको घटनाबारे छानविन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ । शुक्रबार अध्यागमनका कर्मचारी र प्रहरीबीच विवाद हुँदा प्रहरीले कर्मचारीलाई कुटपिट गरेका थिए । घटनामा गम्भीर ध्यानाकर्षण भएको बताउँदै गृहमन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति बनाएको जनाएको छ । समितिका सदस्यमा डीआईजी राजेशनाथ बास्तोला र अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी छन् । समितिलाई तीन दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न भनिएको छ । शुक्रबार बिहान अध्यागमनका अधिकृत छायालाल मोक्तानसँग प्रहरीको विवाद भएको थियो । डिपार्चरबाट अराइभलतर्फ आउनेक्रममा भएको चेकिङमा विवाद भएपछि प्रहरीले मोक्तानलाई कुटपिट गरेको सीसीटीभी फुटेजमा देखिएको छ । सीसीटीभी फुटेज हेरेपछि प्रहरीले अध्यागमन प्रमुख गोगन बहादुर हमाललाई पनि हातपात गरेका थिए ।

प्रतिक्रिया