राज्यका महत्वपूर्ण अभिलेख नष्ट गर्नेलाई राष्ट्रद्रोह सरह कारबाही गर्नुपर्ने सांसदको भनाई

काठमाडौं । सांसदहरुले राज्यका महत्वपूर्ण अभिलेख तथा ऐतिहासिक दस्ताबेजहरु नष्ट गर्नेलाई राष्ट्रद्रोह सरहको मुद्दा चलाएर कारबाही गर्नुपर्ने बताएका छन । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदले राज्यको ऐतिहासिक दस्ताबेज तथा अभिलेखहरुलाई नष्ट गर्नेलाई राष्ट्रद्रोह सरहको मुद्दा चलाउनुपर्ने धारणा राखेका हुन् । बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राज्यका महत्वपूर्ण अभिलेख नष्ट गर्नेलाई ३÷५ वर्षको सजायले नपुग्ने बताए । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद सुमना श्रेष्ठले ऐतिहासिक दस्ताबेज नष्ट गर्नेलाई राष्ट्रद्रोह सरहको कारबाही हुनुपर्ने बताइन । 
नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रिय महत्वका कागजातहरु नेपाल बाहिर लैजान दिनु नहुनेमा जोड दिए । 
छलफलमा क्रममा सांसद पन्तले विधेयकमाथि छलफल हुँदा मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने माग राखेपछि बैठक स्थगित भयो । प्रतिनिधिसभा नियमावलीमा समितिको गणपूरक सङ्ख्या नपुगेमा समितिको सभापतिले बैठकको कार्य स्थगित गर्न वा अर्को कुनै समय वा दिनसम्मका लागि बैठक स्थगित गर्नसक्ने व्यवस्था छ । 
 

प्रतिक्रिया