चीनसँग भएको पारवाहन सम्झौता कार्यान्वयनमा

तत्कालिन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला २०७२ चैतमा चीनसँग भएको पारवाहन सम्झौता कार्यान्वयनमा आएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल चीन पारवहन यातायात सम्झौता कार्यान्वयनको पहिलो निर्यातको शुभारम्भ गरिएको हो । नेपालका लागि चिनियाँ राजदुत चेन सोङ र नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले नेपालबाट चीन हुँदै तेस्रो मुलुक जापानमा पठाउन लागिएको सामानको रिवन काटेर पारवाहन सम्झौताको शुभारम्भ गरेका हुन् । पारवहन सम्झौता कार्यान्वयनमा आएसँगै भारतबाट मात्र नभई भूपरिबेष्ठिक देश नेपालले चीन हुँदै तेस्रो मुलुकसँग सामान आयात निर्यात गर्न सामुन्द्रिक किनारसम्म पहुँच पाएको छ । शुभारम्भ कार्यक्रममा नेपालका लागि चिनियाँ राजदुत चेन सोङले चीन सरकारसँग भएको पारवहन सम्झौता कार्यान्वयनमा आएसँगै नेपालको तेस्रो मुलुकसँगको व्यापारको बाटो खुला भएको बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले चीनसँगको पारवहन तथा यातायात प्रोटोकल कार्यान्वयमा आउनु नेपालको वैदेशिक व्यापारको लागि कोशेढुङ्गा भएको बताए । 
नेपाल—चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले पारवहन सम्झौता कार्यान्वयन भएसँगै चीन हुँदै तेस्रो मुलुकमा नेपाली सामान निर्यात गर्न ढुवानी सस्तो पर्ने बताए । 
नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेन्द्र मल्लले चीनसँगको पारवहन सम्झौता कार्यान्वयनमा आउनु नेपालका निर्यात व्यवसायीहरुका लागि सुखद पक्ष भएको बताए । त्यस्तै, सिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले चीन हुँदै नेपालबाट तेस्रो मुलुकमा नेपाल वस्तु निर्यातको बाटो दीर्घकालिन रुपमा जान आवश्यक रहेको बताए । 
पारवाहन सम्झौता भएको चार वर्षपछि तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीचमा यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको थियो ।
 

प्रतिक्रिया