वसन्तपुर- न्युरोड क्षेत्र लाई सुन्दर, व्यवस्थित बनाउने योजनामा महानगर

काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक न्युरोड क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना बनाएको छ । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको छ । आमनागरिकको सहज आवागमन, सहरी सौन्दर्यकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना महानगरको छ ।  सवारी निषेधित क्षेत्र बनाउने योजना अन्तर्गत नै पहिलो चरणमा नयाँ सडकको पार्किङ हटाइएको छ । दोस्रो चरणमा यात्रु चढाउने र ओराल्ने प्रणाली लागु गर्ने तयारी छ । समान खरिद गर्न आउने ग्राहक वर्गको सवारी साधन पार्किङ व्यवस्थापनको पहिलो जिम्मेवारी सम्बन्धित पसल सञ्चालक र व्यापारिक केन्द्र सञ्चालकको नै रहेको महानगरको भनाइ छ । महानगरले व्यक्तिपिच्छेको सवारीसाधनका लागि पार्किङ उपलब्ध गराउन नसक्ने भएकाले पसल र व्यापारिक केन्द्र सञ्चालकले नै आफ्ना ग्राहकका लागि पार्किङको व्यवस्था गर्नुपर्ने जनाएको छ । नयाँ सडकको नजिकै निर्माणाधीन धरहरामा, काठमाडौँ मलमा र साबिकको पुरानो बसपार्कस्थित काठमाडौँ टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएको छ । पुरानो बसपार्कस्थित काठमाडौँ टावरको पार्किङमा तीन सय वटा चारपाङ्ग्रे र सात सय वटा दुईपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिन्छ । सडकमा पार्किङ निषेध गरिएपछि नयाँ सडक क्षेत्र सुन्दर देखिने र सवारी आवागमन पनि सहज हुने विश्वास छ ।। 
 

प्रतिक्रिया