राष्ट्रियसभामा माओवादी केन्द्र बन्यो सबैभन्दा ठूलो पार्टी

राष्ट्रियसभामा नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी बनेको छ । बिहीवार १९ सिटका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका १०, नेकपा माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टीका १ जना निर्वाचित भएसँगै राष्ट्रियसभामा दलीय हैसियत फेरिएको हो । माओवादीबाट हाल राष्ट्रियसभामा उपाध्यक्षसहित १५ जना छन् । ३ जना फागुन २० मा बिदा हुँदैछन् । निर्वाचनबाट ५ जना थपिएकाले राष्ट्रिय सभामा माओवादी केन्द्र १७ सांसदसहित सबैभन्दा ठूलो दल बनेको हो । राष्ट्रिय सभामा कांग्रेसका हाल १० सांसद रहेकोमा ४ जना फागुन २० मा बिदा हुँदैछन् । निर्वाचनबाट १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ । हाल एकीकृत समाजवादीका ८ जना छन् । दुई जना फागुनबाट बिदा हुँदै गर्दा नयाँ दुई जना निर्वाचित भएकाले उसको सांसद संख्या ८ नै रहनेछ । राष्ट्रिय सभामा एमालेका १७ जना सदस्य रहेकोमा ८ जनाको पदावधि फागुन २० मा सकिँदैछ । एमालेले एक मात्र सिट जितेकाले अब उसको राष्ट्रिय सभामा १० जना सांसद मात्र हुनेछन् । योसँगै एमाले राष्ट्रिय सभामा तेस्रो दल बनेको छ । जसपाकी प्रमिलाकुमारी यादवको कार्यकाल फागुन २० मा सकिँदै गर्दा एक जना निर्वाचित भएर आएकाले जसपाको राष्ट्रिय सभामा उपस्थिति यथावत रहने छ । लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् । माथिल्लो सदनमा सात दलको उपस्थिति रहने छ ।
 

प्रतिक्रिया