दक्षिणी गाजाको युनिस शहरमा इजरायलद्वारा भीषण बमबारी

अस्पताल र विश्वविद्यालयमा बसेका सर्वसाधारणको बिचल्ली

दक्षिणी गाजा पट्टीको खान युनिस शहरमा इजरायलले गरेको भीषण बमबारीमा कम्तीमा ६५ जना प्यालेस्टिनीको मृत्यु भएको छ । प्यालेस्टिनी लडाकू र इजराइली सेनाबीच भीषण संघर्ष हुँदा शहरको पश्चिमी क्षेत्रमा इजरायली लडाकू विमान र तोपखानाले भीषण बमबारी गरेको बताइएको छ । त्यस क्षेत्रमा हजारौँको संख्यामा विस्थापित प्यालेस्टिनीहरू बसेका छन । इजरायली सेनाका ट्यांकरहरुले खान युनिस शहरका अस्पताल र विश्वविद्यालयलाई घेराबन्दी गरेका छन् । घेराबन्दीले अस्पताल र विश्वविद्यालयमा शरण लिएर बसेका हजारौं सर्वसाधारण बिचल्लीमा परेका छन् । हमासका केन्द्रिय कमाण्डरहरु लुकेको आशंकामा इजरायली सेनाहरुले सो शहरलाई निशाना बनाएको हो । खान युनिस शहरमा हमासको भुमिगत कम्पाउण्ड फेला पारेको छ  । सो स्थानमा २० इजरायली बन्धकहरु रहेको बताइएको छ ।  यता इजरायलमा हमासले बन्धक बनाएका परिवारजनले संसदको अर्थ समितिको बैठकमा प्रवेश गरी बन्धक रिहाइको माग गरेपछि बैठक अवरुद्ध भएको छ । उनीहरुले बन्धकहरु सकुशल नफर्केसम्म सरकारलाई सास फेर्न नदिने चेतावनी समेत दिएका छन् । गाजा पट्टीमा जारी इजराइली आक्रमणमा मृत्यु हुने प्यालेस्टिनीको संख्या २५ हजार २९५ पुगेको छ । पछिल्लो २४ घन्टामा इजरायली सेनाद्वारा १ सय ९० जना प्यालेस्टिनी मारिएको र ३ सय ४० जना घाइते भएका छन । जारी इजराइल–हमास युद्धमा सन् २०२३ अक्टोबर ७ यता कम्तीमा ६३ हजार प्यालेस्टिनी घाइते भएको छन । 
 

प्रतिक्रिया